कोशी प्रदेशसभा सञ्चालनमा ढिलासुस्ती, सांसदको असन्तुष्टि

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार १८:३६

विराटनगर । कोशी प्रदेशसभाको आइतबार बसेको बैठकमा प्रदेशसभा सदस्य (प्रदेश सांसद)ले नै सभा सञ्चालनमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका छन् ।

निर्धारित समयमा बैठक सुरु नहुने प्रवृत्तिले प्रदेशसभाको कार्यक्षमतामाथि नै प्रश्न उठेको छ । विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी (जसपा)की प्रदेशसभा सदस्य निर्मला तावा लिम्बूले सभा सञ्चालनमा भइरहेको ढिलाइबारे स्पष्ट जवाफ माग गरिन् ।

उनले १ बजे बैठक बस्ने सूचना जारी गरिए पनि ३ बजेसम्म पनि सुरु नहुने अवस्थालाई गम्भीर भन्दै यसको जिम्मेवार सरकार हो वा सभामुख भन्ने प्रश्न उठाइन् । निर्धारित समयमा बैठक नबसेर २ घण्टासम्म ढिला गर्नु ठीक नभएको लिम्बूको भनाइ छ ।

नेकपा (एमाले)का तर्फबाट बोल्दै रामबहादुर रानामगरले प्राकृतिक विपत्तिले इलाममा पुर्‍याएको क्षतिबारे ध्यानाकर्षण गराए । गत असोजको बाढीपहिरोले जिल्लामा ठूलो भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै उनले आगामी मनसुनअघि पूर्वाधार पुनर्निर्माणका लागि बजेट विनियोजन गर्न माग गरे ।

उनका अनुसार इलाममा पुल र सडकतर्फ मात्र करिब तीन अर्ब २७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । खानेपानी क्षेत्रमा करिब ५० करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ । उनले लोकतन्त्रलाई सुदृढ राख्न र संविधान कमजोर बनाउने कुनै पनि गतिविधि रोक्न संघीय सरकार सचेत हुनुपर्ने पनि बताए ।

त्यसैगरी, एमालेका प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले कोशी प्रदेशमा आदिवासी तथा जनजातिको बाहुल्यता रहेको उल्लेख गर्दै ग्रामथान संरक्षणका लागि विशेष नीति आवश्यक रहेको धारणा राखे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट बोल्दै गोपालबहादुर विश्वकर्माले दलित तथा जनजाति समुदाय लामो समयदेखि विभेद र उत्पीडनमा परेको उल्लेख गर्दै उनीहरूको सम्मान र उत्थानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री प्रदीपकुमार सुनुवारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले निर्माण कार्य प्रभावित भएको बताए । लागत बढ्दा योजना कार्यान्वयनमा कठिनाइ भइरहेको उनको भनाइ थियो । प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने तय भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.