
कपिलवस्तु । कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
महाराजगञ्ज नगरपालिका–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत चैत ७ गते महाराजगञ्जको वरगदा गाउँमा हिन्दु–मुस्लिम झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मी र स्थानीयबीच तनाव उत्पन्न भएको थियो ।
सोही क्रममा भएको झडपका बेला सुरक्षाकर्मीले चलाएको गोली पेटमा लागेर यादव गम्भीर घाइते भएका थिए । घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । चिकित्सकको प्रयासका बाबजुद पनि उनको ज्यान जोगिएन ।
























