झापामा अनलाइन सट्टेबाजी गर्नेहरूमाथि प्रहरीको निगरानी

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार १६:००

बिर्तामोड। प्रहरी र विशेष अनुसन्धान टोलीले झापाका विभिन्न स्थानमा हुने गरेको अनलाइन बेटिङ (सट्टेबाजी) मा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाएको छ। स्रोतका अनुसार यस्ता सट्टेबाजहरू सबैभन्दा धेरै बिर्तामोडमा सक्रिय रहेका छन्।

बिर्तामोड बाहेक दमक, धुलाबारी र काँकरभिट्टा लगायतका क्षेत्रमा एजेन्टमार्फत कारोबार भइरहेको तथ्य प्रहरीले फेला पारेको छ। सरकारले अनलाइन सट्टेबाजीका एपहरू बन्द गर्न निर्देशन दिएपछि झापामा यसमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको विशेष टोलीका एक अधिकृतले जानकारी दिए। सट्टेबाजीका कारण झापाका धेरै व्यवसायी र युवाहरूको आर्थिक अवस्था नाजुक बनेको प्रहरीको निष्कर्ष छ।

प्रहरीले सट्टेबाजीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न धेरै कारोबारीको नाम तथा विस्तृत विवरण प्राप्त गरिसकेको जनाएको छ। अनुसन्धान प्रक्रिया पूरा भएलगत्तै उनीहरूलाई पक्राउ गर्ने तयारी भइरहेको छ।

हाल इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेका बेला झापामा अनलाइन बेटिङमार्फत सट्टेबाजीको काम झनै फस्टाएको पाइएको छ। नेपालमा यस्ता एपहरू प्रतिबन्धित भए पनि सीमावर्ती जिल्लाहरूमा लुकिछिपी निर्वाध रूपमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.