
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहँदा देशभर मौसममा बदली देखिएको छ ।
यसको प्रभाव विशेषगरी गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा बढी परेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ । मंगलबार दिउँसो देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत औँल्याइएको छ ।
राति भने मौसमको प्रभाव अझै विस्तार हुने अनुमान गरिएको छ । लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
विशेषगरी पहाडी र हिमाली भू–भाग बढी प्रभावित हुने देखिएको छ । महाशाखाले चट्याङ र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
























