
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले उच्च रक्तचाप बढेका कारण उनलाई अस्पताल ल्याइएको बताए। राति सुत्ने बेला असहज महसुस भएपछि अस्पताल पुर्याउँदा उनको प्रेसर उच्च रहेको र पेटमा ग्यास समेत भरिएको डा. गजुरेलले जानकारी दिए।
उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ। गरिएका कतिपय परीक्षणका रिपोर्टहरू सामान्य आएका छन् भने केही रिपोर्ट आउन बाँकी छ।
उनको उपचारमा डा. रत्नमणि गजुरेल नेतृत्वको टोली र पेटरोग विशेषज्ञहरू संलग्न छन्। यादवलाई अहिले अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखेर निगरानी भइरहेको छ।
























