
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महिला सांसदहरूले किशोरीहरूमाथि भइरहेको साइबर बुलिङका विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल र केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ जना महिला सांसदहरूले भोटाहिटीस्थित ब्युरो पुगेर लिखित उजुरी दर्ता गराएका हुन्।
सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्ममार्फत किशोरीहरूमाथि भइरहेको दुर्व्यवहार, अपमानजनक व्यवहार र घृणा फैलाउने टीका-टिप्पणीले उनीहरू मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ। यस्ता गतिविधिले किशोरीहरूको आत्मसम्मान, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा गम्भीर असर पारेको सांसदहरूले जनाएका छन्।
सांसदहरूले साइबर बुलिङसम्बन्धी उजुरीहरूको छिटो र प्रभावकारी ढङ्गले छानबिन तथा अनुसन्धान गर्न माग गरेका छन्। उनीहरूले पीडित किशोरीहरूलाई तत्काल सुरक्षा प्रदान गर्न र दोषीलाई कानुनी दायरामा ल्याएर न्याय सुनिश्चित गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। पछिल्लो समय प्रविधिको दुरुपयोग गरी महिला तथा किशोरीहरूलाई लक्षित गरी हुने साइबर अपराधका घटना बढेपछि सांसदहरूले सामूहिक रूपमा यस्तो कदम चालेका हुन्।
























