एक वर्षमा ७५४७ विपद्, ४९० जनाको मृत्यु

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार ०६:४०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार एक वर्षको अवधिमा देशभर ७ हजार ५४७ वटा विपद्का घटना भएका छन् । १३ हजार ५०४ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी, वन डढेलो लगायतका विपद्जन्य घटनाले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । आगलागीका घटना सबैभन्दा धेरै भएका छन् ।

एक वर्षमा मात्रै ३ हजार ६५२ आगलागीका घटना भएका छन् । जसमा १०४ जनाको मृत्यु भएको छ भने ५६३ जना घाइते भएका छन् । आगलागीका कारण ४ हजार १८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।

त्यसैगरी, बाढीका ३२८ घटनामा ३९ जनाको ज्यान गएको छ । बाढीमा परेर २७ जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । पहिरोका ६२१ घटनामा ७६ जनाको मृत्यु भएको तथ्यांकले देखाउँछ ।

भारी वर्षाका ४४६ घटनामा ७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । चट्याङका ४१९ घटनामा ४८ जनाको मृत्यु भएको छ र ३१२ जना घाइते भएका छन् । यसबाट ५२२ परिवार प्रभावित बनेका छन् ।

यसैगरी, हावाहुरीका ४७७, वन डढेलाका ३२४, जंगली जनावर आक्रमणका ५०९ र लेक लाग्ने (हाइपोथर्मिया, ‘उचाइसम्बन्धी समस्या’)का १३१ घटना दर्ता भएका छन् । एक वर्षको अवधिमा विभिन्न विपद्का कारण ४९० जनाको मृत्यु भएको छ । ३८ जना अझै बेपत्ता छन् र १ हजार ९६५ जना घाइते भएका छन् ।

प्राधिकरणले सामान्य सावधानी अपनाएर पनि आगलागी जस्ता धेरै घटनाहरू न्यूनीकरण गर्न सकिने उल्लेख गरेको छ । जनचेतना र पूर्वतयारीमा जोड दिन आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.