
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज (बुधबार) बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयअनुसार यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेकपा (एमाले) बाट डा. भिष्म अधिकारी, नेकपाबाट देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट सदस्यका रूपमा रहेका छन् ।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना प्रतिनिधि पठाउन बाँकी रहेकाले उनीहरूका बारेमा आजै टुङ्गो लाग्न सक्ने बताइएको छ ।
कार्यदलमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्य छन् । कार्यदलको सदस्य सचिवको जिम्मेवारी लिलाधर सुवेदीलाई दिइएको छ । यो कार्यदलले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार पार्ने जिम्मेवारी पाएको छ ।
























