कालो मुस्लोले विराटनगर विमानस्थलको आकाश ढाकेपछि…

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २५, बुधबार ११:२०

विराटनगर । विराटनगर विमानस्थलको रनवे नजिक बुधबार बिहान ८ बजेतिर एक्कासी आगो दन्किएर कालो धुवाँको मुस्लो निस्कियो । आकाशै कालो भएपछि स्थानीय बासिन्दा त्रसित बने ।

‘लौ जहाजमा आगो लाग्यो’ भन्दै विमानस्थल बाहिरका स्थानीय मात्र होइन, भित्रका कर्मचारी, प्रहरी र सेनासमेत दुर्घटनास्थलतिर दौडिए । विमानस्थलमा तैनाथ दमकल र एम्बुलेन्स साइरन बजाउँदै रनवेतिर हुँकिएपछि एकाएक भीडभाड र कोलाहल मच्चियो ।

विमानस्थलको नियमअनुसार जहाजमा आगो लागेको १ देखि २ मिनेटभित्र दमकल पुगेर स्थिति नियन्त्रणमा लिनुपर्ने हुन्छ ।काठमाडौंबाट विराटनगर आएको ‘एक्सरसाइज एयर’ को इए ००६ कल साइन भएको विमानमा इन्जिनको समस्या देखिएपछि आपतकालीन अवतरण गर्नुपरेको थियो ।

चालक दलले कन्ट्रोल रुममा खबर गरेलगत्तै अन्य जहाजलाई आकाशबाटै फर्काएर यो विमानलाई अवतरणको प्राथमिकता दिइएको थियो । बाक्लो हुस्सुका कारण पहिलो पटक अवतरण हुन नसकेपछि रंगेली क्षेत्रमा होल्ड गरेर पुनः अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको थियो ।

५५ जना यात्रु बोकेको जहाज अवतरण भएको दुई मिनेटमै आगो दन्किएपछि सुरक्षाकर्मी, रेडक्रस र कर्मचारीहरू स्ट्रेचर लिएर उद्धारमा जुटेका थिए । आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको दमकललाई समेत बोलाइएको थियो । विमानस्थलको अत्याधुनिक दमकलले पानी र केमिकलको फोहरा प्रयोग गरी आगो निभाएको थियो ।

विराटनगर विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार यो कृत्रिम दुर्घटनामा ५ जनाको मृत्यु, ६ जना गम्भीर घाइते र अन्य ३९ जना सामान्य घाइते भएको देखाइएको थियो । घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको र मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको नाटक गरिएको थियो ।

यो दृश्य वास्तविक नभई नागरिक उड्डयन प्राधिकरणले जहाज दुर्घटनाको समयमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरेको ‘पूर्णकालीन अभ्यास’ मात्र थियो । बिना पूर्व सूचना गरिएको अभ्यासका कारण वरपरका बासिन्दा भने निकै आत्तिएका थिए ।

सूचना अधिकारी भण्डारीले विमानस्थलमा यस्तो अभ्यास प्रत्येक २ वर्षमा ‘फूल एक्सरसाइज’ तथा १ वर्ष र ६ महिनामा ‘पार्सियल एक्सरसाइज’ गर्नुपर्ने बताए । जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति कम गर्न, उद्धारलाई प्रभावकारी बनाउन र उद्धारकर्मीको क्षमता बढाउन यस्तो पूर्व अभ्यास महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.