
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको खुलेको छ ।
उच्च स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइसकेको छ । तर, दम्पती हाल विदेशमा रहेकाले कार्यान्वयन हुन सकेको छैन ।
स्रोतका अनुसार अदालतबाट पक्राउ अनुमति जारी भइसकेको भए पनि देउवा दम्पती देशबाहिर भएकाले तत्काल पक्राउ सम्भव छैन । उनीहरू केही समयअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि हङकङ पुगेको जानकारी सार्वजनिक भएको थियो ।
यो घटनासँगै लामो समयदेखि चर्चामा रहेको देउवा परिवारको सम्पत्ति र आर्थिक कारोबार पुनः बहसको केन्द्रमा आएको छ । विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संयुक्त रूपमा गरेको प्रारम्भिक अनुसन्धानमा देउवा दम्पती र उनीहरूको परिवारसँग सम्बन्धित केही चलअचल सम्पत्तिमा अस्वाभाविक वृद्धि तथा स्रोत नखुलेको कारोबार भेटिएको बताइएको छ ।
अनुसन्धानका क्रममा उनीहरूको छोरा जयवीर देउवाको नाममा पछिल्लो एक–दुई वर्षमा किनिएको करिब ७३ रोपनी जग्गा विशेष रूपमा शंकास्पद देखिएको स्रोतले जनाएको छ । उक्त जग्गाको स्रोत स्पष्ट नभएको भन्दै त्यसैबाट अनुसन्धान अघि बढाइएको बताइएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सोही जग्गाबाट सुरु गरिएको खोजीका क्रममा अन्य आर्थिक गतिविधिहरू पनि शंकास्पद देखिएका छन् ।
राजनीतिक जीवनमा लामो समय प्रभावशाली रहेका शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् भने आरजु राणा देउवा २०७० दशकपछि सक्रिय राजनीतिमा प्रवेश गर्दै दुईपटक सांसद र एकपटक परराष्ट्रमन्त्री बनेकी थिइन् । सार्वजनिक पदबाहेक अन्य पेसामा संलग्नता नदेखिएका उनीहरूमाथि विगतदेखि नै गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको थियो । यस सम्बन्धमा अख्तियार लगायत निकायमा धेरै उजुरी दर्ता भएका थिए ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार कुनै व्यक्तिमाथि प्रत्यक्ष आपराधिक कसुरको आधार बिना मात्र यस्तो आरोपमा अनुसन्धान गर्न नमिल्ने व्यवस्था छ । तर, प्रारम्भिक रूपमा केही आर्थिक अनियमितता र स्रोत नखुलेका सम्पत्तिको संकेत भेटिएपछि विस्तृत अनुसन्धान अघि बढाइएको बताइएको छ । हालसम्म भने उनीहरूमाथि कुनै फौजदारी मुद्दा दायर भएको छैन ।
यसअघि जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण, तोडफोड र आगजनी भएको घटना पनि अहिले पुनः चर्चामा आएको छ । उक्त घटनापछि घरभित्र जलेका नोट लगायत सामग्री फेला परेको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकारीहरूले घटनास्थलमा पुगेर विवरण संकलन गर्दै केही प्रमाण परीक्षणका लागि प्रयोगशालामा पठाएका थिए ।
हाल अनुसन्धान देउवा परिवारको घरजग्गा, बैंक खाता र अन्य आर्थिक कारोबारसम्म विस्तार गरिएको छ । स्रोतका अनुसार जयवीर देउवा जेनजी आन्दोलनपछि नेपाल फर्किएको औपचारिक अभिलेख समेत स्पष्ट रूपमा नदेखिएको विषय पनि अनुसन्धानको दायरामा परेको छ ।
यससँगै देउवा परिवारसँग जोडिएका अन्य विवादहरू पनि पुनः सतहमा आएका छन् । विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका उजुरीहरूमा नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार ठेक्का, सुरक्षण मुद्रण केन्द्र तथा भुक्तानी प्रवेशद्वार परियोजनामा अनियमितता भएको आरोप उल्लेख गरिएको छ ।
उक्त प्रकरणहरूमा तत्कालीन सञ्चार सचिव डा. बैकुण्ठ अर्याल, नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल तथा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलसमेत मुछिएका थिए । यीमध्ये केहीविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छन् । अख्तियारले ती मुद्दामा अन्य व्यक्ति र राजनीतिक संलग्नताको संकेत गरे पनि नाम सार्वजनिक नगरेको अवस्थामा अहिले पुनः जोडिएको स्रोतले जनाएको छ ।
देउवा दम्पतीका छोरा जयवीरमाथि पनि राज्यशक्तिको दुरुपयोग गरी सरकारी निर्णयहरू प्रभावित पारेको आरोप लाग्दै आएको छ । विशेषगरी सुरक्षण मुद्रण केन्द्र, भुक्तानी प्रवेशद्वार र टेलिकमसम्बन्धी परियोजनामा उनको नाम अनौपचारिक रूपमा जोडिँदै आएको थियो ।
यता देउवा दम्पतीको सचिवालयले भने पक्राउ पुर्जी जारी भएकोबारे आफूहरूलाई कुनै औपचारिक जानकारी नभएको जनाएको छ । राजनीतिक रूपमा संवेदनशील मानिएको यस प्रकरणले देशको प्रशासनिक, न्यायिक र राजनीतिक क्षेत्रमा नयाँ बहस सुरु गराएको छ ।



















