जनआन्दोलन दिवस : प्रजातन्त्र पुनर्बहालीको सम्झना

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार ०६:४२

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा आज (बिहीबार) देशभर विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै छ ।

३० वर्ष लामो पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको दिनको रूपमा यो दिवसलाई विशेष महत्वका साथ स्मरण गरिन्छ । विक्रम संवत २०४६ चैत २६ गते तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले देशवासीका नाममा सम्बोधन गर्दै बहुदलीय शासन व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए ।

यससँगै २०१७ साल पुस १ गतेदेखि सुरु भएको निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो । नेपाली कांग्रेस र वाममोर्चाको संयुक्त नेतृत्वमा सञ्चालन भएको जनआन्दोलन करिब ५० दिनसम्म चलेको थियो ।

आन्दोलनको अग्रपंक्तिमा रहेका कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वले आन्दोलनलाई निर्णायक मोडमा पुर्‍याएको मानिन्छ । २०४६ फागुन ७ गतेदेखि सुरु भएको आन्दोलनले व्यापक जनसमर्थन पाएको थियो ।

यस ऐतिहासिक उपलब्धिले नेपालमा बहुदलीय लोकतान्त्रिक व्यवस्था पुनःस्थापित हुनुका साथै नागरिक स्वतन्त्रता, राजनीतिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको मार्ग खोलिएको थियो । जनआन्दोलन दिवसलाई लोकतन्त्रको पुनर्जागरणको प्रतीकका रूपमा लिइन्छ ।

दिवसका अवसरमा राजनीतिक दल, नागरिक समाज तथा विभिन्न संघसंस्थाले कार्यक्रम आयोजना गरी सहिदहरूको योगदानको स्मरण गर्नुका साथै लोकतन्त्र सुदृढीकरणको प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.