
संखुवासभा । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा १३ वर्षदेखि फरार रहेका एक जना प्रतिवादी संखुवासभाबाट पक्राउ परेका छन् ।
पाँचखपन नगरपालिका–८ का ५० वर्षीय कुलबहादुर न्यौपानेलाई बुधबार चैनपुर नगरपालिका–६ बाट पक्राउ गरिएको संखुवासभा प्रहरीका सूचना अधिकारी, इन्स्पेक्टर धनबहादुर राजवंशीले बताए । उनका अनुसार न्यौपानेविरुद्ध २०६९ साल असोज २४ गते मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता भएको थियो ।
तर, उनी फरार रहेका थिए । प्रहरीका अनुसार लामो समयदेखि खोजतलास जारी रहे पनि उनी विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउपछि न्यौपानेलाई जिल्ला अदालत संखुवासभाबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ पर्नु महत्वपूर्ण उपलब्धि भएको प्रहरीले जनाएको छ ।



















