सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १३:५५

इनरुवा । सुनसरीमा सडक सुरक्षा र अपराध नियन्त्रणलाई प्रविधिसँग जोड्ने तयारी गरिएको छ । उक्त तयारी अनुरुप सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना अघि बढाइएको हो ।

जिल्लाका मुख्य बजार, सडक, चोक तथा सीमावर्ती क्षेत्रमा २५० वटा सीसीटीभी क्यामेरा जडान गरिँदैछ । त्यसका लागि करिब ४ करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमानसहित जिल्ला प्रहरीले स्रोत व्यवस्थापनको पहल थालेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले तयार पारेको योजनाअनुसार सदरमुकाम इनरुवासहित जिल्लाका सुरक्षा दृष्टिले संवेदनशील र बढी चहलपहल हुने स्थानमा क्यामेरा राखिनेछ । योजना कार्यान्वयनका लागि जिल्लाका १२ वटै स्थानीय तहसँग आर्थिक तथा अन्य सहयोग मागिएको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए ।

उनका अनुसार क्यामेरा जडानका लागि निजी क्षेत्रलाई समेत सहभागी गराउने प्रयास भइरहेको छ । यसका लागि ४९ जना व्यवसायीसँग समन्वय र सहकार्यको पहल गरिएको छ । स्थानीय सरकार र व्यवसायीको सहयोग जुटाएर योजनालाई कार्यान्वयनमा लैजाने प्रहरीको तयारी छ ।

सीसीटीभी जडानलाई प्रहरीले निगरानीको माध्यमका रूपमा मात्र नभई दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन र आपराधिक गतिविधिको अनुसन्धानमा सहयोग पुग्ने पूर्वाधारका रूपमा अघि सारेको छ । विशेषगरी सीमावर्ती क्षेत्रमा हुने अवैध तथा आपराधिक गतिविधिमाथि निगरानी बढाउन यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसैबीच, जिल्लामा बढ्दो सडक जोखिम र ट्राफिक व्यवस्थापनका चुनौती सम्बोधन गर्न छुट्टै समिति गठन गरेर काम गर्ने निर्णय पनि भएको छ । प्रहरी, ट्राफिक प्रहरी, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय बढाउँदै दुर्घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने एसपी मल्लले बताए ।

प्रहरीले सुरक्षा योजनासँगै सामाजिक सचेतनाका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । लागुऔषध दुर्व्यसनविरुद्ध युवापुस्तालाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । विद्यार्थी, अभिभावक र विद्यालयमार्फत लागुऔषधले व्यक्ति, परिवार र समाजमा पार्ने असरबारे सचेतना फैलाउने लक्ष्य राखिएको छ ।

यसका लागि आयोजित छलफलमा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, एसपी मल्ल, डीएसपी चन्द्रबहादुर खड्कालगायत मानवअधिकार तथा नागरिक अधिकारका क्षेत्रमा कार्यरत प्रतिनिधिहरू सहभागी थिए ।

छलफलमा सहभागीहरूले शान्तिसुरक्षा, सडक सुरक्षा र अपराध नियन्त्रण प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने धारणा राखेका थिए । स्थानीय सरकार, व्यवसायी, नागरिक समाज, विद्यालय र सर्वसाधारणको सक्रिय सहभागिताबिना यस्ता योजना प्रभावकारी नहुने उनीहरूको निष्कर्ष थियो ।

जिल्लामा सीसीटीभी विस्तारसँगै ट्राफिक सचेतना, चालकको जिम्मेवारी, लागुऔषध नियन्त्रण र सीमावर्ती अपराध रोकथामलाई पनि समानान्तर रूपमा अघि बढाउने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.