
काठमाडौं । नेपालको पूर्वी तथा मध्य भू–भागमा आज (बिहीबार) बिहानदेखि मौसममा उल्लेख्य बदली भई वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा हाल बादल लाग्ने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले विशेषगरी कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ ।
त्यस्तै, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको छ । वर्षा गराउने मौसमी प्रणाली भने पूर्वी दिशातर्फ सर्दै कोशी प्रदेशका पहाडी जिल्लाहरू इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङतर्फ अघि बढिरहेको मौसमविद्हरूले बताएका छन् ।
मौसमविद्हरूका अनुसार पहाडी भू–भागमा चट्याङसहित वर्षा हुने सम्भावना बढी हुने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । विशेषगरी खुला स्थान, रुखमुनि वा जोखिमयुक्त क्षेत्रमा नबस्न र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण मौसममा परिवर्तन देखिएको हो । मौसम क्रमशः पूर्वतर्फ सर्दै जाने भएकाले केही समयसम्म सम्बन्धित क्षेत्रमा वर्षा र चट्याङको प्रभाव जारी रहने अनुमान गरिएको छ ।
























