विद्युतीय सुरक्षा दिवस : विराटनगरमा प्रभातफेरी

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २६, बिहीबार १०:०१

विराटनगर । ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा विराटनगरमा प्रभातफेरीसहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने सन्देश प्रवाह गरिएको थियो । कार्यक्रमका सहभागीहरूले विद्युत प्रयोगमा सावधानी अपनाउन आग्रह गर्दै दुर्घटना न्यूनीकरणका उपायका बारेमा जनचेतना फैलाएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका इलेक्ट्रीकल इन्जिनियर सुवोध ठाकुरले विद्युतीय जोखिम न्यूनीकरणका लागि उपभोक्तादेखि प्राविधिकसम्म सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । ‘सामान्य लापरबाहीले पनि ठूला दुर्घटना निम्त्याउन सक्छ । त्यसैले सुरक्षित प्रयोगतर्फ सबैको ध्यान जान जरुरी छ,’ उनले भने ।

सहायक प्रबन्धक माधवप्रसाद नगरकोटीले विद्युतीय सुरक्षासम्बन्धी प्रस्तुति दिँदै उपकरण प्रयोग तथा मर्मतका क्रममा सुरक्षात्मक सामग्रीको अनिवार्य प्रयोग गर्न प्राविधिकलाई सचेत गराए । साथै, उपभोक्ताले पनि विद्युतीय सामग्रीको सही तरिका अपनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमको समापन गर्दै केन्द्रका प्रमुख राम उदगार साहले सुरक्षित कार्यसंस्कृति विकासका लागि दक्ष जनशक्तिको प्रयोग अपरिहार्य रहेको बताए । उनले विद्युत सेवामा संलग्न कर्मचारी तथा उपभोक्ता दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए । विद्युतीय दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने सरोकारवालाहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.