
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि सरस्वती लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले लामालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको समेत सहभागिता रहेको उक्त बैठकले रिक्त उपसभामुख पदमा लामालाई अघि सार्ने निष्कर्ष निकालेको हो। लामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन्।
सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल निर्वाचित भइसकेकाले संवैधानिक व्यवस्था अनुसार उपसभामुख फरक दल र महिला हुनुपर्ने प्रावधान छ।
सोही अनुसार राप्रपाले लामालाई उम्मेदवार बनाएको हो। उनलाई रास्वपा लगायतका दलहरूले समेत समर्थन गर्ने देखिएको छ। उपसभामुखका लागि आजै दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।
























