
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास महत्वपूर्ण रहेको बताउँदै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
संसदको संयुक्त बैठकलाई सम्बाेधन गर्ने क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत हुँदै गएकाले समृद्धिको साझा लक्ष्य हासिल गर्न मिलेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै विकास र समृद्धिको यात्रामा सबै राजनीतिक दल र राज्य संयन्त्रलाई एकजुट हुन आह्वान गरे।
उनले राष्ट्रिय एकताको आवश्यकतामा जोड दिए। समृद्धिको साझा लक्ष्य हासिल गर्न विगतका गल्तीहरूबाट सिक्दै अगाडि बढ्नुपर्ने र निराश जनशक्तिबाट मुलुकको उन्नति सम्भव नहुने भएकाले आशा जगाउने काम गर्न सरकारलाई उनले सुझाव दिए।
राष्ट्रपति पौडेलले भने, ‘हामी फुटेर होइन, जुटेर, विगतका कटुता कोट्याएर होइन, त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नु पर्ने खाँचो छ।’
सार्वभौम संसद्ले जनताको स्वतन्त्रता, सामाजिक न्याय र सुशासनको चाहनालाई पूरा गर्ने विश्वास उनको छ।
























