
काठमाडौं। कतार सरकारले ३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। मुस्लिम समुदायको पवित्र महिना रमदानको अवसर पारेर कतारी राजा (अमिर) ले ती नेपालीहरूलाई कैदमुक्त गर्ने निर्णय गरेका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारी अमिरबाट नेपालीहरूले आममाफी पाएको पुष्टि गरे। कतारले हरेक वर्ष रमदान जस्ता महत्वपूर्ण अवसरमा विभिन्न देशका कैदीबन्दीहरूलाई आममाफी दिँदै आएको छ।
नेपाल सरकारले आफ्ना नागरिकलाई आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। लामो समयदेखिको नेपाल र कतारबीचको कूटनीतिक सम्बन्ध यो कदमले थप प्रगाढ बन्ने विश्वास नेपालले लिएको छ। कतार नेपाली श्रमिकहरूका लागि प्रमुख गन्तव्य मुलुक रहँदै आएको छ।
























