
काठमाडौं। नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबार ओपीडी सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ । मन्त्रालयले गरेको निर्णयप्रति ध्यानाकर्षण भएको जनाउँदै संघले शुक्रबार विज्ञप्ति जारी गरी आइतबार सेवा सञ्चालन गर्न जनशक्तिले नभ्याउने बताएको हो ।
सङ्घका महासचिव सञ्जिव तिवारीले जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिहान ९ देखि साँझ ५ बजेसम्मको नियमित ड्युटीबाहेक अनकल, राउन्ड र आकस्मिक सेवा समेत प्रदान गरिरहेको उल्लेख छ । यस्तो अवस्थामा अतिरिक्त समयको गणना नहुनु अन्यायपूर्ण रहेको सङ्घको ठहर छ ।
यस्तै, स्वास्थ्य संस्थामा फरक-फरक दिन बिदा दिँदा अस्पतालहरूको सेवामा एकरूपता नहुने र यसले बिरामीहरूमा अन्योल सिर्जना गर्ने सङ्घको दाबी छ । सेवा प्रवाहमा गम्भीर असर पर्ने र बिरामीले अनावश्यक झन्झट व्यहोर्नुपर्ने भएकाले आइतबारको बिदा कटौती गर्ने निर्णय कार्यान्वयन गर्न कठिन हुने सङ्घले जनाएको छ ।
























