
काठमाडौं । सरकारले देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित सबै आन्तरिक तथा अन्तरराष्ट्रिय विमानस्थलमा यो व्यवस्था तत्काल लागू गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन जारी गरेको हो । मन्त्रालयले विमानस्थलभित्र सरसफाइ, गोपनीयता र सुरक्षित वातावरण सुनिश्चित हुने गरी स्तनपान तथा शिशु हेरचाह कक्ष सञ्चालन गर्न भनेको छ ।
साथै, आवश्यकताअनुसार यस्ता कक्षहरूको स्तरोन्नति गर्न र बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष समेत सञ्चालन गर्न निर्देशन दिइएको छ । विमानस्थलको सरसफाइलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार बनाउन तथा दैनिक सरसफाइको अनिवार्य ‘लगबुक’ प्रणाली लागू गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
विश्व स्वास्थ्य संगठन र अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, महिला यात्रुका लागि शौचालयमा निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न समेत निर्देशन दिइएको छ । यी सबै व्यवस्था कार्यान्वयन गरी मन्त्रालयलाई जानकारी दिन पनि सम्बन्धित निकायलाई भनिएको छ ।
मन्त्रालयले नागरिकलाई समेत यी निर्देशन कार्यान्वयन भए–नभएको निगरानी गर्न आग्रह गर्दै सूचना अधिकारीमार्फत जानकारी दिन सकिने व्यवस्था गरेको छ । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जारी गरेको निर्देशनमा सेवाग्राहीमैत्री, सुरक्षित र अन्तरराष्ट्रिय स्तरको विमानस्थल सेवा सुनिश्चित गर्न यो कदम चालिएको उल्लेख छ ।
























