
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन्। यही चैत २९ गते आइतबार उनी भारतको आईटीएम विश्वविद्यालयद्वारा आयोजित ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्।
भट्टराई उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहनेछन्। डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो कार्यक्रम आगामी वैशाख १ गतेका लागि तय गरिएको छ। उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि भारत जाने कार्यक्रम छ।
भ्रमणकै क्रममा वैशाख २ गते डा. भट्टराईले नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीको कार्यक्रममा समेत प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ। उनी वैशाख २ गते साँझ नै नेपाल फर्कने कार्यतालिका रहेको छ।
























