
काठमाडौं । वैदेशिक रोजगारीका लागि बुल्गेरिया पठाइदिने र त्यहाँ आकर्षक तलब सुविधा दिलाउने प्रलोभन देखाएर ठगी गरेको आरोपम सल्यान २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ का २४ वर्षीय घने बुढा रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले पीडितहरूलाई बुल्गेरियामा राम्रो काम र मोटो कमाइ हुने प्रलोभनमा पारेका थिए । उनीहरूले विभिन्न व्यक्तिहरूबाट पटक–पटक गरी कुल ९१ लाख ९० हजार रुपैयाँ असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ प्रहरीले जनाएको छ । रकम लिएपछि वैदेशिक रोजगारीमा नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगी हुने क्रम बढेकाले अपरिचित व्यक्ति वा अनधिकृत एजेन्सीहरूलाई रकम नबुझाउन र सचेत रहन प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ ।



















