
विराटनगर। जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १३ जना फरार कैदीहरूलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।
पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार खोजी कार्यलाई तीव्रता दिने क्रममा विभिन्न समयमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
यसैक्रममा, शुक्रबार मात्रै प्रहरीले तुम्बेवा गाउँपालिका–२ बाट एक जनालाई पक्राउ गरेको छ। सुनसरीको झुम्का कारागारबाट भागेका ३५ वर्षीय रमेश लावतीलाई प्रहरीले उनकै गाउँबाट पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका लावतीले २५ वर्षको कैद सजाय पाएका थिए, जसमध्ये उनले ७ वर्ष भुक्तान गरिसकेका थिए।
लावती घरमै लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। हालसम्म त्यसरी भागेका १३ जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।
डीएसपी कर्णले आन्दोलनको फाइदा उठाउँदै कारागारबाट भागेका अन्य फरार कैदी र बन्दीहरूको खोजी कार्य अझै कडाइका साथ भइरहेको जानकारी दिए।
























