
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजक समितिको बैठकले कलेजहरूमा विद्यार्थी संगठन र कार्यस्थलमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कार्यको कडा विरोध गरेको छ।
विगत सात दिनदेखि सिंहदरबारमा जारी बैठकका विषयमा जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले यस्तो कदमले नागरिक र श्रमिकहरूको अधिकार कुण्ठित गर्ने भएकाले पार्टी यसको विपक्षमा उभिने निर्णय गरेको बताए।
पार्टीको ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिमा अहिलेसम्म ४३ जना नेताहरूले आ–आफ्नो धारणा राखिसकेका छन्। दैनिक केही घण्टा मात्र बसेर लम्बिएको यो बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यशैली र एकीकृत पार्टीको कमिटी समायोजनका विषयमा गहन छलफल भइरहेको छ।
नेता खतिवडाका अनुसार अहिलेसम्मका छलफलहरू विचार विमर्शकै चरणमा रहेकाले औपचारिक प्रस्तावका रूपमा कुनै पनि निर्णय पारित भइसकेका छैनन्। नयाँ वर्षको चटारो र आन्तरिक गृहकार्यका लागि समय आवश्यक परेकाले अबको बैठक वैशाख ३ गते बस्ने तय भएको छ।
सोही बैठकले पार्टीको आगामी कार्ययोजना र साङ्गठनिक समायोजनको ठोस खाकालाई अन्तिम रूप दिने बताइएको छ। नेता खतिवडाले वैशाख ३ वा ४ गतेभित्र बैठक औपचारिक रूपमा समाप्त हुने र त्यसपछि पार्टीका आगामी रणनीतिहरू सार्वजनिक गरिने जानकारी दिए।



















