
विराटनगर । काठमाडौंबाट भागेका एक जना कैदी शनिबार विराटनगरमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१५ घर भएका ५२ वर्षीय अरुण थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी लीलाराज लामिछानेका अनुसार थापालाई विराटनगर महानगरपालिका–३ फुटबल चोकबाट पक्राउ गरिएको हो । केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद सजाय भुक्तान गरिरहेका थापा जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते फरार भएका थिए ।
उनलाई जिल्ला अदालत काठमाडौंले लागुऔषध मुद्दामा २०७६ साल फागुन २२ गते दोषी ठहर गर्दै ७ वर्ष कैद सजाय र ५ लाख ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । कारागारबाट फरार भएपछि विराटनगर आएर लुकिछिपी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर अभिषेककुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने र फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने विशेष अभियानअन्तर्गत प्रतिवादीको खोजी एवं पक्राउलाई तीव्र पारिएको डीएसपी लामिछानेको भनाइ छ । पक्राउपछि थापालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
उनलाई अदालतमा बुझाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले पेस गरेपछि उनलाई अदालतले सजाय भुक्तानका लागि पुनः कारागार चलान गर्नेछ । प्रहरीले थप अनुसन्धान पनि गर्नेछ ।



















