
काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसममा आंशिक परिवर्तन देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहानैबाट देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आइतबार कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित अन्य हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराई तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि देशका बाँकी तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा अन्य केही हिमाली भूभागमा पनि एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
आइतबार राति हिमाली क्षेत्रमा आंशिक बदली कायम रहने र पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । तर, कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।
सम्भावित वर्षा, हिमपात र हावाहुरीलाई मध्यनजर गर्दै सर्वसाधारण, यातायात सञ्चालक तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
























