
विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणको चर्चा चलिरहँदा प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयमा स्पष्ट र कडा अडान लिएका छन् ।
उनले प्रधानमन्त्री शाहलाई पनि आफ्नै जस्तो अडान लिन आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले प्रधानमन्त्री शाहको निकट भविष्यमै हुन लागेको भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन तीन प्रमुख विषयमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले विशेषगरी महाकाली क्षेत्रमा भइरहेको सीमा अतिक्रमणको समस्या तत्काल रोक्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् । लामो समयदेखि विवादित रहँदै आएको यो विषयमा नेपालले दृढतापूर्वक आफ्नो अधिकार स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
यसैगरी, उनले लिम्पियाधुरा र लिपुलेकजस्ता संवेदनशील क्षेत्रमा भारतले एकतर्फी रूपमा नाका सञ्चालन गर्न नहुने स्पष्ट पारेका छन् । ती क्षेत्रमा कुनै पनि किसिमको गतिविधि अघि बढाउँदा नेपालको स्वीकृति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने उनको माग छ ।
यी क्षेत्रहरू नेपालको आधिकारिक नक्सामा समेटिएका भू–भाग भएकाले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग प्रत्यक्ष जोडिएको विषय भएको साम्पाङको भनाइ छ । उनले अहिलेका लागि यिनै विषयलाई प्राथमिकतामा राखेर भारत भ्रमण सफल बनाउन सके ठूलो उपलब्धि हुने विश्वास व्यक्त गरेका छन् ।
नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारबाट स्पष्ट, ठोस र परिणाममुखी पहलको अपेक्षा गरिएको छ । साम्पाङको अभिव्यक्तिलाई प्रधानमन्त्रीको आगामी भारत भ्रमणको सन्दर्भमा सरकारलाई दबाब दिने र राष्ट्रिय मुद्दामा एकीकृत धारणा निर्माण गर्ने प्रयासका रूपमा समेत हेरिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका बारेमा नेपाल र भारतबीच सैद्धान्तिक सहमति भए पनि तत्काल मिति भने तय भएको छैन । भ्रमणअघिको आवश्यक कूटनीतिक र प्राविधिक तयारी बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

























