
धादिङ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश र जनताका लागि आवश्यक नयाँ कानुन निर्माण र पुराना कानुनको संशोधन प्रक्रियालाई ‘फास्ट ट्र्याक’ बाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुख भएपछि पहिलोपटक गृहजिल्ला धादिङ आइपुगेका अर्यालले सदरमुकाम धादिङबेँसीमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले आफू निष्पक्ष, इमानदार र तटस्थ रहेर संविधानले परिकल्पना गरेअनुसारका कार्यभार पूरा गर्ने बताए । ‘सरकारी काममा हुने ढिलासुस्तीले जनताले लाभ पाउन ढिला हुन्छ,’ सभामुख अर्यालले भने, ‘विकास, समृद्धि र खुसी एक दिन पनि ढिला नगरी उपलब्ध गराउनु पर्ने भएकाले सोहीअनुरूप व्यवस्थापिकाको तर्फबाट काम हुनेछ ।’ उनले तीनै तहका सरकारबीच कानुन नबाझिने गरी समन्वयकारी वातावरण निर्माण गर्ने समेत उल्लेख गरे ।
आफ्नो जन्मभूमि ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमुना र स्वच्छ गाउँ घोषणा गर्ने कार्यक्रममा सहभागी हुन आएका उनले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनाको काम पनि अब छिट्टै सुरु हुने आश्वासन दिए । देशमा प्रणालीगत सुधारको आवश्यकता औँल्याउँदै उनले सबैलाई सकारात्मक सोचका साथ काम गर्न आग्रह गरे ।
























