आक्रमणमा प्रहरी जवानको मृत्यु, चार जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार ०८:२३

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको हिंसात्मक आक्रमणमा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ ।

पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसियाको सामूहिक आक्रमणमा परेर ज्यान गएको हो । सप्तरीमा दरबन्दी भएका उनी बिदामा घर गएका बेला घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार चौरसियामाथि केही युवकहरूको समूहले लक्षित गरी आक्रमण गरेको थियो । घटनाका क्रममा आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए । गम्भीर घाइते भएका उनलाई स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरिदिएका हुन् ।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न चार जनालाई घटनास्थलबाटै पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तीन जना पुरुष र एक जना महिला छन् । उनीहरूलाई प्रारम्भिक अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार आक्रमणको कारण र संलग्न व्यक्तिहरूबीचको सम्बन्धका बारेमा थप अनुसन्धान भइरहेको छ । प्रहरी जवान चौरसियामाथि आक्रमण गर्नुपर्ने कारण हालसम्म प्रष्ट भइसकेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.