सुनसरी र झापामा दुर्घटना, बालिकासहित दुई जनाको मृत्यु

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ३०, सोमबार १८:०३

विराटनगर । सुनसरी र झापामा सोमबार दिउँसो दुर्घटना हुँदा बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीमा यात्रुवाहक बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता, डीएसपी सन्तोष श्रेष्ठका अनुसार वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ३८६८ नम्बरको बसले ठक्कर दिँदा मोहमद मोख्तार मियाँकी छोरी अन्दाजी ५ वर्षीया असियाना खातुनको मृत्यु भएको हो ।

बालिकाले बाटो क्रस गर्दै गरेको अवस्थामा बसले दिउँसो ३ः३५ बजेतिर ठक्कर दिएको श्रेष्ठले बताए । बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै प्रहरीले बस र चालक सुनसरीको इटहरी उपहानगरपालिका–१६ का ३७ वर्षीय शिवजी निरौलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध केहीबेर बनाएका थिए ।

अन्दाजी डेढ सय जनाको संख्यामा भेला भएका स्थानीयले सडकमा अवरोध गरेपछि प्रहरी टोली गएर सम्झाइबुझाइ गरेको थियो । आन्दोलित बनेका स्थानीयलाई प्रहरीले सम्झाइबुझाइ गरेर फिर्ता गराएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । बालिकाले हतारमा बाटो क्रस गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । दुर्गापुरबाट १५ जना मलामी बोकेर माईखोलातर्फ जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरको ढालाबाट खसेर सहचालक कनकाई–१ का अन्दाजी २६ वर्षीय विनोद दनुवारको मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार दिउँसो २ बजेतिर गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका दनुवारको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा दिउँसो ४ः५० बजेतिर मृत्यु भएको हो । दुर्घटनालगत्तै ट्याक्टर र चालक कनकाई–१ ३० वर्षीय राजु नेपालीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्दै ढालामा मानिस राखेर ट्याक्टर चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.