
काठमाडौं । महान्यायाधिवक्ता नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार रिट दायर गरेका हुन् ।
सर्वोच्च स्रोतका अनुसार रिटमाथिको प्रारम्भिक सुनुवाइ आगामी वैशाख ३ गतेका लागि तोकिएको छ । यसअघि बस्नेतले दर्ता गराउन खोजेको रिट चैत २७ गते दरपीठ गरिएको थियो । त्यसविरुद्ध उनले पुनः निवेदन दिएपछि इजलासले सुनुवाइको मिति निर्धारण गरेको हो ।
रिटमा कडेलसँग संविधानले तोकेको महान्यायाधिवक्ताको योग्यता नपुगेको दाबी गरिएको छ । विशेषगरी संविधानको धारा १५७ अनुसार सर्वोच्च अदालतका न्यायाधीश सरहको योग्यता आवश्यक पर्ने व्यवस्था रहेको उल्लेख गर्दै बस्नेतले कडेलसँग आवश्यक १५ वर्ष निरन्तर वकालत गरेको अनुभव नभएको जिकिर गरेका छन् ।
लामो समय विदेशमा बसेका कडेलको पेसागत निरन्तरतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिटले संवैधानिक पदमा नियुक्तिको मापदण्डका बारेमा पुनः बहस सिर्जना गरेको छ । अदालतको आगामी सुनुवाइले यस विषयमा थप स्पष्टता दिने अपेक्षा गरिएको छ ।
























