दीपक खड्का प्रकरण अख्तियारमा सर्‍यो

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख २, बुधबार ०७:३५

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दीपक खड्कासँग सम्बन्घित अनुसन्धान फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । विभागले प्रारम्भिक प्रमाण संकलन गरी फाइल हस्तान्तरण गरेको हो ।

खड्कालाई चैत १५ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेपछि उनीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको थियो । तर, हालको कानुनी व्यवस्थाअनुसार यस्तो मुद्दामा अघि बढ्न ‘सम्बद्ध कसुर’ अर्थात् मूल अपराधको पुष्टि आवश्यक पर्ने भएपछि फाइल अख्तियारतर्फ सारिएको हो ।

अख्तियारमा यसअघि नै खड्काविरुद्ध सार्वजनिक पदको दुरुपयोग, भ्रष्टाचार तथा अकुत सम्पत्ति आर्जनसम्बन्धी उजुरी परेको छ । यही आधारमा अब आयोगले भ्रष्टाचार निवारण ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाउनेछ । आयोगले मुद्दा दर्ता गरेर अदालतमा लगेपछि आवश्यक ठहरिएमा सम्पत्ति शुद्धीकरणतर्फ पुनः अनुसन्धान हुने सम्भावना पनि खुला रहनेछ ।

फाइल हस्तान्तरणसँगै गृहमन्त्री सुधन गुरुङ अख्तियार पुगेका थिए । उनले प्रमुख आयुक्त प्रेमकुमार राईसँग भेट गर्दै अनुसन्धान प्रक्रिया र आगामी कदमबारे छलफल गरेका थिए ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा २०८० चैतमा गरिएको संशोधनपछि विभागको प्रत्यक्ष अनुसन्धान अधिकार सीमित भएको छ । अब मूल अपराधको अनुसन्धान गर्ने निकायले मुद्दा चलाएपछि मात्र सम्पत्ति शुद्धीकरणतर्फ कारबाही अघि बढाउन मिल्ने व्यवस्था लागू भएको छ ।

हाल खड्कालाई अख्तियारकै हिरासतमा राखेर थप अनुसन्धान गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.