
झापा । झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ । प्रहरीका अनुसार बुधबार राति ११ः५० बजेतिर शव भेटिएको हो ।
स्थानीयबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरमपुरबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो । घटनास्थलमा पुगेर प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई नियन्त्रणमा लिएको छ ।
उक्त शव नवजात शिशु (छोरा)को रहेको प्रहरीले जनाएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
अनुसन्धानका क्रममा एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको कारण, संलग्न व्यक्ति तथा परिस्थितिका बारेमा थप अध्ययन गरिरहेको छ ।



















