
काठमाडौं । देशभरको मौसममा मिश्रित प्रभाव देखिएको छ । पश्चिमी वायु र स्थानीय वायुसँगैको प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा बदली र वर्षाको सम्भावना बढेको छ भने तराई क्षेत्रमा गर्मी क्रमशः बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहानैदेखि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । यी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका केही स्थानमा भने बिहानैदेखि हल्का वर्षा समेत भइरहेको छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ ।
अन्य पहाडी भू–भागमा आंशिक बदली रहँदा मौसम पूर्णरूपमा खुल्ने सम्भावना भने कम रहेको मौसमविद्ले बताएका छन् । तराई तथा भित्री मधेशका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहनेछ ।
घाम चर्किंदै जाँदा तापक्रम वृद्धि भई गर्मी बढ्ने महाशाखाले जनाएको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेकाले दैनिक जनजीवन प्रभावित हुन सक्ने आकलन गरिएको छ ।
मौसमविद्हरूले विशेषगरी तराई क्षेत्रमा दिउँसोको समयमा अत्यधिक गर्मी हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । पहाडी क्षेत्रमा चट्याङ र वर्षाबाट हुने जोखिमप्रति सजग रहन सुझाव दिइएको छ ।



















