२४ घण्टामै लाइसेन्स छपाइ सुरु, सेवा तीव्र बनाउने सरकारको दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार ११:१६

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा लामो समयदेखि देखिँदै आएको ढिलाइ अन्त्य गर्दै सरकारले अब २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था लागू गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षणपछि शुक्रबारदेखि नै यो प्रणाली कार्यान्वयनमा आएको जानकारी दिएका हुन् । मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व बुझाइसकेपछि सेवाग्राहीले अब बढीमा एक दिनभित्र लाइसेन्स प्राप्त गर्ने व्यवस्था सुरु गरिएको बताए ।

Advertisement

उनका अनुसार लामो समयदेखि सेवाग्राहीले भोग्दै आएको ढिलाइ र झन्झट अब अन्त्य गर्ने दिशामा सरकार अघि बढेको छ । उनले निरीक्षणका क्रममा पुराना समस्या र व्यवस्थापनगत कमजोरीका कारण सेवाप्रवाह प्रभावकारी बन्न नसकेको स्वीकार गर्दै अब त्यस्ता कमजोरी सुधार गरेर प्रणालीलाई चुस्त बनाइने बताए ।

‘अब सम्भव काम रोकिने छैन । सेवाग्राहीले छिटो सेवा पाउनेछन्,’ उनले भने, ‘लाइसेन्स नपाउने लामो समयदेखिको समस्या अब अन्त्यतर्फ गएको छ ।’ सुरक्षण मुद्रण केन्द्रमा करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण लामो समयदेखि पूर्ण रूपमा प्रयोगमा नआएको विषयलाई मन्त्रीले गम्भीर रूपमा लिएका छन् । ती उपकरणलाई अब पूर्ण क्षमतामा सञ्चालन गरेर राज्यको लगानीको प्रभावकारी उपयोग गरिने उनले स्पष्ट पारे ।

मन्त्री तिमिल्सिनाले डिजिटल प्रणालीमार्फत सेवाग्राहीको डाटा सुरक्षा उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औँल्याए । उनका अनुसार सरकारी सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने दिशामा केन्द्रको भूमिका महत्वपूर्ण हुनेछ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले केन्द्रले आगामी दिनमा सेवा क्षेत्र विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार अब लाइसेन्ससँगै राहदानी, चेकबुक, स्मार्ट कार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात पनि यही केन्द्रबाट छपाइ गर्ने तयारी भइरहेको छ ।

ढुंगानाले हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छपाइ गरिरहेको जानकारी दिए । विदेश जाने नागरिकलाई प्राथमिकतामा राखेर लाइसेन्स छपाइलाई तीव्र बनाइएको उनले बताए । उनका अनुसार वैशाख १२ गतेभित्र करिब १२ लाख लाइसेन्स छाप्ने लक्ष्य राखिएको छ । बाँकी करिब १७ लाख लाइसेन्स असार मसान्तभित्र सम्पन्न गर्ने योजना छ ।

सरकारले पछिल्लो समय सार्वजनिक सेवा प्रवाहलाई डिजिटल र स्वचालित प्रणालीमा रूपान्तरण गर्ने प्रयास तीव्र बनाइरहेको छ । लाइसेन्स छपाइमा देखिएको ढिलाइले लामो समयदेखि सेवाग्राहीमा असन्तुष्टि र असहजता सिर्जना गर्दै आएको थियो । विशेषगरी नयाँ लाइसेन्स प्राप्त गर्ने र नवीकरण प्रक्रियामा पर्ने ढिलाइका कारण नागरिकले महिनौँसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको थियो ।

नयाँ व्यवस्थासँगै सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएमा सरकारी दस्तावेज छपाइमा बाहिरी निर्भरता घट्ने र समयमै सेवा उपलब्ध गराउन सहज हुने विश्वास सरकारको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.