संसदीय १२ समितिमा नयाँ नेतृत्व, सभापतिहरूले लिए शपथ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार १७:१५

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विषयगत तथा संयुक्त गरी १२ वटा समितिमा नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल (डीपी) समक्ष उनीहरूले शपथ ग्रहण गरेका हुन् ।

शपथपछि सभामुख अर्यालले नवनिर्वाचित सभापतिहरूलाई सफल कार्यकालको शुभकामना दिँदै समितिहरूको प्रभावकारी भूमिकाले संसदलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । यसअघि शुक्रबार नै बसेका सम्बन्धित समितिका बैठकहरूले सभापति चयन गरेका थिए ।

Advertisement

जसअनुसार अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग समितिमा रहवर अन्सारी र कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित भएका छन् ।

संयुक्ततर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ चयन हुँदा राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी सर्वसम्मत सभापति बनेका छन् ।

नवनिर्वाचित सभापतिहरूको नेतृत्वमा अब समितिहरूले नीति निर्माण, कानुन मस्यौदा तथा सरकारको कामकारबाहीमाथि प्रभावकारी निगरानी गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.