
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा अब उनी स्वयं उपस्थित नहुँदा पनि हुने भएको छ ।
सर्वोच्च अदालतले उनलाई वारेस (प्रतिनिधि)मार्फत मुद्दा लड्न अनुमति दिएको हो । बिहीबार सर्वोच्चमा निवेदन दर्ता गर्दै बालेनले आफ्नो तर्फबाट वारेस राख्न पाउनुपर्ने माग गरेका थिए ।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको संयुक्त इजलासले सुनुवाइ गर्दै वारेस राख्न अनुमति दिएको हो । यसअघि पनि उनले यस्तै माग राखेका थिए । तर, अदालतले अस्वीकार गरेको थियो ।
यो मुद्दा बालेन काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला दिएको अभिव्यक्तिसँग जोडिएको हो । उनले आदिपुरुष फिल्ममा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद हटाउन माग गर्दै प्रदर्शन रोक्ने घोषणा गरेका थिए ।
त्यसविरुद्ध परेको रिटमा पाटन उच्च अदालतले महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतको उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै बालेनले सामाजिक सञ्जालमार्फत अदालत र संघीय सरकारको आलोचना गरेका थिए ।
उनले अदालतको आदेश नमान्ने अभिव्यक्ति दिएपछि सो विषयलाई लिएर अवहेलना मुद्दा दायर भएको थियो ।



















