
विराटनगर । उदयपुरको बेलका नगरपालिका–१ आम्बासी कालीखोलानजिक शुक्रबार अपरान्ह दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ ।
सप्तरीको फत्तेपुरबाट उदयपुरको शनिबारेतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ५७३८ नम्बरको मोटरसाइकलले सोही दिशामा अघि बढिरहेको साइकललाई अपरान्ह १२ः१० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा साइकल यात्री चौदण्डीगढी नगरपालिका –४ का अन्दाजी ६० वर्षीय घलबहादुर भुजेलको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा दिउँसो २ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालकसमेत घाइते भएका छन् । उनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



















