गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार ०७:१९
गोरखामा रास्वपाका सुधन गुरुङ विजयी

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग औपचारिक माग गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै मुभमेन्टले मन्त्री पदमा बहाल रहँदा छानबिन प्रक्रिया प्रभावित हुने र यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने जनाएको छ । मुभमेन्टका प्रवक्ता विजय शाहले हस्ताक्षर गरेको वक्तव्यमा मन्त्रीकै हैसियतमा आफ्नैविरुद्ध अनुसन्धान हुनु आधारभूत कानुनी सिद्धान्त र नैतिक मान्यताविपरीत भएको उल्लेख गरिएको छ ।

Advertisement

निष्पक्ष न्याय सुनिश्चित गर्न गुरुङले पद छोड्नुपर्ने वा सरकारकै तर्फबाट उनलाई बर्खास्त गर्नुपर्ने माग गरिएको छ । वक्तव्यमा मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का राजनीतिक खेलको रूपमा नलिन सरकारलाई सचेत गराइएको छ ।

क्याबिनेट गठन र पुनर्गठन गम्भीर राजनीतिक निर्णय भएको भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहितासहित निर्णय लिनुपर्नेमा जोड दिइएको छ । मुभमेन्टले वर्तमान सरकार जनताको बलिदान र त्यागबाट बनेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्वका सवालमा कुनै सम्झौता स्वीकार्य नहुने चेतावनी दिएको छ ।

गृहमन्त्री गुरुङ विवादमा तानिनुको मुख्य कारण विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी र सम्पत्ति विवरणमा उक्त सेयर उल्लेख नगरेको आरोप हो । यही विषय सार्वजनिक भएपछि उनको नैतिकता र पारदर्शितामाथि प्रश्न उठेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.