
विराटनगर । झापाको काँकडभिट्टा र इलामको पशुपतिनगरस्थित सीमा नाका बन्द गरिने भएको छ । सोमबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि नाका पूर्ण रूपमा बन्द हुनेछ ।
भारतको पश्चिम बंगालमा यही अप्रिल २३ तारिख (वैशाख १० गते) हुने विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतको जिल्ला प्रशासन कार्यालय दार्जिलिङले आइतबार जारी गरेको सूचनाअनुसार सीमा नाका अप्रिल २० तारिख साँझ ६ बजेदेखि अप्रिल २३ तारिख राति १२ बजेसम्म सिल रहनेछ ।
यस अवधिमा पैदल यात्रु तथा सवारीसाधनको आवतजावतलाई पूर्ण रूपमा रोक लगाइने छ । तर, अत्यावश्यक सेवा भने खुला रहने जनाइएको छ । बिरामीहरूलाई परिचयपत्र र आवश्यक कागजातका आधारमा आवतजावतको अनुमति दिइनेछ ।
साथै, विदेशी पर्यटकलाई पनि सहजीकरण गरिनेछ भने सड्ने प्रकृतिका खाद्यान्न बोकेका सवारीसाधनलाई विशेष अनुमति दिइनेछ । यता भद्रपुर–गलगलिया नाका भने खुला रहने भए पनि सुरक्षा व्यवस्था कडा पारिने भएको छ । भद्रपुरबाट नेपाल प्रवेश गर्न सकिने भए पनि भारततर्फ प्रवेश गर्दा कडाइ गरिने छ ।
निर्वाचनका लागि भारतको पश्चिम बंगालका १६ जिल्लामा मतदान हुँदैछ । जहाँ करिब ३.६ करोड मतदाताले प्रतिनिधि चयन गर्नेछन् । भारतको निर्वाचन आयोगले निर्वाचनका लागि सुरक्षा बल परिचालनदेखि लिएर सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।



















