
काठमाडौं । भिजिट भिसामा दुबई जाने यात्रुको पासपोर्टमा काम गर्न प्रतिबन्ध उल्लेख गरेको विषयमा दुई अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।
अध्यागमन विभागका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत ती अधिकृतलाई तत्काल हटाएर छानबिन प्रक्रिया अघि बढाइएको हो । विभागका प्रवक्ता टीकाराम ढकालले भिजिट भिसामा यात्रा गर्ने यात्रुको पासपोर्टमा ‘इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहिबिटेड’ भन्ने टिप्पणी लेखिनु नियमविपरीत भएको बताए ।
उक्त कार्यले यात्रुको अधिकार र प्रक्रियागत मापदण्ड उल्लंघन गरेको ठहर गरिएको छ । घटनापछि विभागले यस विषयलाई गम्भीर रूपमा लिँदै आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
छानबिनबाट तथ्य पुष्टि भएमा सम्बन्धित अधिकृतमाथि विभागीय कारबाही गरिने जनाइएको छ । अध्यागमन प्रक्रिया पारदर्शी र नियमसम्मत बनाउन विभागले सबै कर्मचारीलाई सचेत रहन निर्देशन समेत दिएको छ ।



















