
काठमाडौं । देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहँदा मौसम मिश्रित बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ । अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज (मंगलबार) हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै, कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र अन्य पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा तापक्रम बढ्ने देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने सम्भावना छ ।
राति भने अधिकांश स्थानमा मौसम सफा रहनेछ । तर, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ ।


















