क्याबिनेटमा गृहमन्त्रीमाथि प्रश्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १९:१३

काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङको विषयले अप्रत्याशित रूपमा प्रवेश पाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा मन्त्रीहरूमाझ गृहमन्त्रीको भूमिकाका बारेमा जिज्ञासा उठेपछि वातावरण केही समयका लागि गम्भीर बनेको थियो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्रीसँग जोडिएको पछिल्लो विवादका कारण ‘अब के हुने ?’ भन्ने प्रश्न औपचारिक रूपमा उठाइएको थियो ।

Advertisement

जवाफमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उक्त विषयमा अन्तिम निर्णय आफूले नै गर्ने स्पष्ट पारे । उनले गृहमन्त्रीबाट प्रत्यक्ष ब्रिफिङ सुनेपछि मात्र कुनै निष्कर्षमा पुग्ने संकेत पनि दिएका छन् ।

सरकारले तत्काल निर्णय नगर्ने रणनीति अपनाएको देखिएको छ । स्रोतका अनुसार गृहमन्त्री गुरुङले मन्त्रालयमै विस्तृत जानकारी प्रस्तुत गरेपछि मात्रै मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिने तयारी गरिएको छ । यसले अहिलेको अवस्थालाई ‘पर्ख र हेर’को चरणमा राखेको छ ।

गृहमन्त्री गुरुङको नाम व्यवसायी दीपक भट्टसँग जोडिएको सेयर लगानीसम्बन्धी विवादपछि सार्वजनिक बहसमा आएको हो । उक्त प्रकरणले उनको कार्यशैलीमाथि प्रश्न उठाएपछि क्याबिनेटभित्र समेत चासो बढेको देखिन्छ ।

यद्यपि, गृहमन्त्रीले यसअघि नै आफूविरुद्ध उठेका आरोपबारे स्पष्टीकरण दिइसकेका छन् । अब उनले औपचारिक रूपमा ब्रिफिङ दिएपछि मात्र यो विवादले कुन मोड लिन्छ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.