खाद्य स्वच्छतामा विराट किचनलाई ‘क’ वर्ग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार ०६:४६

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल परिसरमा क्यान्टिनका रूपमा सञ्चालन हुँदै आएको ‘विराट किचन’ले खाद्य स्वच्छता स्तरतर्फ सर्वोच्च ‘क’ वर्ग (अति उत्तम) प्राप्त गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मंगलबार गरेको अनुगमनपछि किचनलाई उक्त श्रेणी प्रदान गरिएको हो । होटल एसोसिएसन कोशी प्रदेशका सचिव पूर्णप्रसाद भट्टराईको संयोजकत्वमा सात सदस्यीय टोलीले किचनको स्थलगत निरीक्षण गरेको थियो ।

Advertisement

टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रकृति वस्ती, राष्ट्रिय उपभोक्ता संघकी शोभा निरौला, विराटनगर महानगरपालिकाका कृष्णप्रसाद पोखरेल, पर्यटन व्यवसायी सरोज पौडेल, बुढीगंगा गाउँपालिका–२ की वडा सदस्य मीना विश्वास तथा सहायक हवलदार सुजन प्रधान सहभागी थिए । अनुगमनका क्रममा खाद्य प्रविधि कार्यालयकी अप्सरा संग्रौला, अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटा र किचनका सञ्चालक रविकान्त साहको पनि उपस्थिति रहेको थियो ।

अनुगमन संयोजक भट्टराईका अनुसार विराट किचनमा खाद्य गुणस्तर, सरसफाइ, भण्डारण, पकाउने प्रक्रिया र सेवा व्यवस्थापनलगायत सबै पक्ष सन्तोषजनक मात्र नभई उत्कृष्ट स्तरमा रहेको पाइएको छ । ‘किचनको व्यवस्थापन निकै व्यवस्थित र मापदण्डअनुसार छ । जसले गर्दा यसले ‘क’ वर्ग प्राप्त गरेको हो,’ उनले भने ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरलाई ‘क’ (अति उत्तमं, ‘ख’ (उत्तम), ‘ग’ (सन्तोषजनक) र ‘घ’ (सामान्य) गरी चार वर्गमा वर्गीकरण गर्दै आएको छ । तीमध्ये ‘क’ वर्ग प्राप्त गर्नु कुनै पनि खाद्य सेवा प्रदायकका लागि उच्च उपलब्धि मानिन्छ ।

विराट किचनले अस्पतालमा उपचाररत बिरामी, तिनका परिवारजन, कर्मचारी तथा आगन्तुकलाई लक्षित गर्दै ताजा, पोषिलो र स्वादिष्ट भोजन उपलब्ध गराउँदै आएको छ । किचनमा हाल छ जना विशेषज्ञ डाइटिसियन कार्यरत छन् । जसले बिरामीको स्वास्थ्य अवस्था, चिकित्सकीय प्रोटोकल र व्यक्तिगत आवश्यकताका आधारमा भोजन योजना तयार गर्ने व्यवस्था छ ।

किचनका सञ्चालक रविकान्त साहका अनुसार यहाँको सेवा खानापूर्ति गर्ने उद्देश्यमा मात्रै सीमित छैन । ‘हामीले बिरामीको स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ खाना तयार गर्छौं । प्रत्येक बिरामीका लागि छुट्टै डाइट प्लान बनाइन्छ,’ उनले भने ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाले अस्पताल परिसरभित्रै गुणस्तरीय र सुलभ मूल्यको भोजन उपलब्ध हुँदा बिरामी र उनका आफन्तलाई बाहिर जानुपर्ने बाध्यता हटेको बताए । उनका अनुसार यसले अस्पतालको सेवा प्रणालीलाई थप सहज र प्रभावकारी बनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरका स्वच्छता मापदण्डको पालना गर्दै आएको विराट किचनले प्राप्त गरेको ‘क’ वर्गले अस्पतालभित्र उपलब्ध गराइने खानपान सेवामा नयाँ मापदण्ड स्थापित गरेको सरोकारवालाहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.