कट्नु खोलाको पुल ८ वर्षदेखि अलपत्र

मुलुकी खबर
रवीन्द्र बराल
clock२०८३ वैशाख ९, बुधबार १५:२०

रंगेली । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ५ र ६ को बीचमा पर्ने कट्नु खोलामा निर्माणाधीन पुल आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

स्काई वाइवाइ माँ जानकी कन्स्ट्रक्सन जनकपुरले सडक विभागमार्फत २०७५ साल असारमा करिब ३ करोड ३७ लाख रुपैयाँको लागतमा २५ मिटर लामो पुल निर्माणको ठेक्का पाएको थियो । सम्झौताअनुसार २०७७ साल असारभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म काम अधुरै रहेको छ ।

Advertisement

पुल नबन्दा अधिकारी चोकदेखि पूर्व सौँठा बजारसम्मको आवतजावत प्रभावित हुँदै आएको छ । विशेष गरी वर्षायाममा कट्नु खोलामा पानीको बहाव बढ्दा स्थानीयहरू जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । साना बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावतमा ठूलो कठिनाइ हुने गरेको स्थानीयले बताएका छन् ।

द राईजिङ्ग ईङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल विश्वनाथ रायका अनुसार बर्खायाममा विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्नै समस्या छ । पानी बढ्दा पढाइ प्रभावित हुने अवस्था सिर्जना हुने गरेको उनको भनाइ छ । किसानहरूलाई पनि कृषि उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ भइरहेको रायले बताए ।

स्थानीयले पुल निर्माणमा भएको ढिलाइलाई गम्भीर लापरबाहीको रूपमा लिएका छन् । समयमै काम सम्पन्न नहुँदा पनि सम्बन्धित निकाय र स्थानीय तह मौन बसेको उनीहरूको आरोप छ । पटकपटक ध्यानाकर्षण गराउँदा समेत निर्माण कार्य अघि नबढेको गुनासो स्थानीयले गरिरहेका छन् ।

ठेकेदार कम्पनीले काम ढिला गरे पनि प्रभावकारी कारबाही नहुनु प्रश्नको विषय बनेको छ । सरकारी अनुगमन कमजोर हुँदा विकास आयोजना अलपत्र पर्ने समस्या दोहोरिएको स्थानीयको भनाइ छ ।

स्थानीयले तत्काल निर्माण कार्य सम्पन्न गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूका अनुसार पुल बनेपछि आवतजावत सहज हुनुका साथै स्थानीय जीवनयापनमा ठूलो सहजता आउनेछ ।

रतुवामाई नगरपालिका–५ का सोमनाथ कार्कीले ठेकेदारको बदमासीले पुल अलपत्र परेको बताए । ‘ठेकेदारबीच नै कुरा नमिलेर काम अलपत्र परेको हो । उनीहरु नै मुद्दा हालाहाल गरिरहेको पाइयो । हामीले पुल निर्माणका लागि सडक विभागसँग बारम्बार आग्रह गरिरहेका छौं । सबैतिर कुरा राख्दा पनि कतैबाट निकास निस्किएको छैन । पुल नहुँदा ठूलो समस्या भोग्नु परिरहेको छ, कार्कीले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.