
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष एवं सांसद महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले गरेको कडाइप्रति कडा विरोध जनाएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ठाकुरले अनावश्यक कडाइका कारण मधेस र सीमा क्षेत्रका नागरिकले दैनिक सास्ती भोग्नुपरेको बताए।
नेपाल र भारतबिचको खुल्ला सिमाना र सदियौँदेखिको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई सुरक्षा वा भन्सारको नाममा अवरोध पुर्याउन नहुनेमा उनले जोड दिए। घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामान किनमेल गर्न वारपार गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले अपराधीलाई जस्तो व्यवहार गरी दुःख दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
चेकजाँचलाई व्यवस्थित बनाउनुपर्ने भए पनि त्यसको नाममा नागरिकलाई आतङ्कित पार्न नहुने ठाकुरको भनाइ छ। उनले सरकारलाई तत्काल यस्ता सास्ती रोक्न र सहज आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन्। साथै, उनले आगामी आर्थिक वर्षको बजेटमा मधेसलाई उपेक्षा नगर्न समेत सरकारलाई आग्रह गरे।



















