
काठमाडौं । रुस र युक्रेनबीच चार वर्षदेखि जारी भीषण युद्धमा परी हालसम्म १ सय १८ जना नेपालीले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागका अनुसार युद्धमा १ सय ३२ जना नेपाली अझै बेपत्ता छन् भने २ सय १९ जना घाइते भएका छन् ।
सन् २०२२ फेब्रुअरी २४ देखि सुरु भएको यो युद्धमा कम्तीमा १५ सय नेपाली युवा रुसी सेनामा भर्ना भएको अनुमान गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी नागरिक सेनामा भर्ना भएमा मासिक करिब ३ लाख रुबेल तलब र एक वर्षपछि रुसी नागरिकता दिने नीति ल्याएपछि नेपाली युवाहरू मानव तस्करमार्फत रुस पुगेका थिए । कतिपय विद्यार्थी भिसामा गएर त कतिपय खाडी मुलुक र मलेसियाबाट मस्को पुगेर सेनामा भर्ती भएका हुन् ।
युद्धमैदानबाट फर्किन सफल भएका दैलेखका प्रकाश बोहराले १८ महिना ‘फ्रन्टलाइन’ मा बिताउँदाको भयावह अनुभव सुनाए । ‘३० जनाको टोलीमा गएका साथीहरू फर्कँदा ५–१० जना मात्र हुन्थे, टाउको माथिबाट मिसाइल उडिरहन्थ्यो,’ उनले भने । १० लाख रुपैयाँ बुझाएर रुस पुगेका उनले सात दिनको सामान्य तालिमपछि सिधै युद्धको अग्रभागमा खटिनुपरेको बताए ।
अर्कोतर्फ, युक्रेनमा रहेका नेपालीहरू ज्यान जोगाउन जंगलको बाटो हुँदै पैदलै छिमेकी मुलुक पोल्याण्डतर्फ भागेका थिए । गोरखाका सञ्जित भट्टले पाँच दिनसम्म हिँडेर सीमा पार गरेको स्मरण गरे । युद्ध लम्बिँदै जाँदा रुसी नागरिकता लिइसकेका नेपालीलाई समेत घर फर्किन कठिन भइरहेको छ । सरकारले मृत्यु भएकाहरूको सनाखतका लागि रुसको आग्रह बमोजिम डीएनए नमुना संकलन गरी पठाउने कार्य जारी राखेको छ ।

























