
काठमाडौं । सरकारले हालै सम्पन्न ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फर्छ्योट हुन नसकेका फाइलहरूका बारेमा गुनासो गर्न सरोकारवालाहरूलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा प्रक्रिया टुङ्गिएका वा नटुङ्गिएका फाइलहरूबारे जानकारी मागेको हो ।
गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायहरूमा लामो समयदेखि अल्झिएका कामहरू छिटोछरितो रूपमा सम्पन्न गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको थियो । अभियान सकिए पनि कतिपय फाइलहरू अझै बाँकी रहेको हुनसक्ने भएकाले नागरिकहरूलाई सोबारे गुनासो दर्ता गर्न सरकारले आग्रह गरेको छ ।
सेवाग्राहीले आफूसँग सम्बन्धित फाइलको फर्छ्योटमा देखिएका समस्या वा ढिलासुस्तीका बारेमा प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेलो सरकार शाखामा सिधै सम्पर्क गर्न सक्नेछन् ।
यसका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्ने वा अनलाइनमार्फत हेलो सरकारको पोर्टलमा गएर आफ्नो गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन र पारदर्शिता कायम गर्न सबै नागरिकलाई सहयोगका लागि अपिल गरेको छ ।

























