
काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का २२ वर्षीय कृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको घटनाप्रति राष्ट्रिय दलित आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ललितपुरको सातदोबाटोबाट वैशाख ३ गते पक्राउ परेका विक वैशाख ७ गते बिहान सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा मृत फेला परेका थिए ।
प्रहरी नियन्त्रणमा रहेकै बेला विकको शंकास्पद मृत्यु भएको भन्दै पीडित परिवारले न्यायिक छानबिनको माग गर्दै आएका छन् । आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले बुधबार विज्ञप्ति जारी गर्दै हिरासतभित्र हुने यस्ता मृत्युले कानुनी शासन र मानव अधिकारको संरक्षणमा गम्भीर प्रश्न खडा गरेको बताएका छन् । राज्यको सुरक्षा घेराभित्रै नागरिकको ज्यान जानुले राज्यप्रतिको विश्वासमा आँच पुगेको आयोगको ठम्याई छ ।
विगतमा पनि अनुसन्धानका क्रममा दलित समुदायमाथि शारीरिक तथा मानसिक यातना दिने गरिएका उदाहरण रहेकाले यस घटनालाई आयोगले अत्यन्त संवेदनशील रूपमा लिएको बताएको छ । आयोगले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । हिरासतमा रहेका व्यक्तिको सुरक्षा गर्ने दायित्व राज्यको हुने स्मरण गराउँदै आयोगले पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

























