
काठमाडौं। नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ता दुवैबाट चाँडै बिदा हुने दाबी गरेका छन्। सरकारले अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न उर्दी जारी गरेको विषयलाई लिएर उनले कडा आक्रोश पोखेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखहरूलाई बोलाएर आगामी शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएको भन्दै यसले सरकारको असली चरित्र उदाङ्गो पारेको बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा सुकुम्वासी बस्तीमा डोजर चल्दा छाती थाप्ने भनी दिएको अभिव्यक्तिलाई स्मरण गराउँदै अहिले त्यो प्रतिबद्धता कहाँ गयो भनी प्रश्न गरे।
बस्नेतले सरकारलाई सुकुम्वासीलाई लखेट्ने कि व्यवस्थित गर्ने भन्ने प्रश्न गर्दै गरिबी हटाउनुको साटो गरिबलाई नै समाप्त पार्न खोजेको आरोप लगाए। सडक र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमा डोजर चलाइएको तथा भन्सारमा सामान्य कडाइ गरेर गरिबको मुखको गाँस खोसेको उनको तर्क छ।
विद्यार्थी र कर्मचारी सङ्गठन खारेज गर्ने जस्ता कदमले सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गर्दै उनले यस्तो जनविरोधी शासनलाई जनताले चुप लागेर नहेर्ने चेतावनी दिए।
























